चितवन, असोज ४ –
चितवन कोरिया पुनर्मिलन समाजले भरतपुरको नारायणी नमुना माविका १६० जना विद्यार्थीलाई मार्सलआर्ट सिकाएको छ ।
बाल बालिकाको शिक्षा तथा खेलकुदको क्षेत्रमा काम गर्दै आएको कोरियाली संस्था Unesco – ICM (युनेस्को – आईसिएम) सँगको सहकार्यमा चितवन कोरिया पुनर्मिलन समाजले विद्यार्थीलाई दुई महिनासम्म मार्सल आर्ट सिकाएको हो ।
मार्सल आर्ट सिकिसकेपछि बिहिबार एक कार्यक्रमका बीच विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनुका साथै मार्सल आर्ट प्रशिक्षणको कार्यक्रम समापन गरिएको छ ।
दुई महिनासम्म चलेको प्रशिक्षणमा विद्यार्थीहरुलाई सितोरियो कराते, तेक्वान्दो जस्ता खेलको प्रशिक्षण नेपालकै प्रशिक्षकहरुद्वारा गरिएको थियो भने कोरियाली परम्परागत मार्सलआर्ट ‘तेक्वान’ को प्रशिक्षण दिन १० दिनका लागि कोरियाली प्रशिक्षकहरु बोलाइएको थियो ।
विद्यार्थीहरुलाई नेपालकै परम्परागत भाषा कला संस्कृतिसँग साक्षात्कार गराउन नेपालकै आदिवासी कल्चर मध्येको एक थारु कल्चरका लाठी नाँच, फाएर डान्स, झुमरा नाँच, ढम्फु नाँच, झाम्टा नाँच अवलोकन र अनुभव गराउन सौराह भ्रमण समेत गराइएको थियो ।
भिडिया (युट्युब)
यसले विद्यार्थीहरुको खेलकुद विकास, क्षमता विकास, मानसिक विकास, कम्युनिटी इङ्गेजमेन्ट, दिगो विकास लक्ष्यसँग सम्बन्धित क्रियाकलापहरु सम्पन्न भएको आयोजकले विश्वास लिएको छ । यसले विद्यार्थीहरुले केही सिक्ने, बुझ्ने र महसुस गर्ने अवसर मिलेको विश्वास लिइएको चितवन कोरिया पुनर्मिलन समाजका अध्यक्ष डम्बर बाहदुर रानाले बताए ।
कार्यक्रम संयोजक हिमालय सुवेदीले मार्सल आटले शारिरिक, मानसिक, सहनशिलता, रिस नियन्त्रणदेखि आत्म रक्षा सहित विभिन्न कुरा सिकाउने बताए । यीनै कुरा विद्यार्थीलाई प्राप्त होस् भन्ने उद्देश्यले युनेस्को आईसिएमसँग मिलेर यो कार्यक्रम गरिएको उनको भनाइ छ ।
नारायणी नमुना माविका प्रधानाध्यापक रामशरण दुवाडीले यस कार्यक्रम नारायणी माविमा ल्याएर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । उनले यस कार्यक्रमले विद्यार्थीहरुलाई महत्वपूर्ण सिकाइ भएको बताए ।
समापन कार्यक्रममा बोल्दै नारायणी माविका सहायक प्रधानाध्यापक केशव सापकोटाले मार्सल आर्ट सिक्न अरु विद्यार्थीहरुमा पनि उत्साह देखिएको बताउँदै यस्ता कार्यक्रमहरु विद्यालयमा पुनः आउने आशा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापाले आफूले सिकेको ज्ञानलाई निरन्तरता दिँदै देशभित्रमात्र होइन विदेशमा पनि गएर आफ्नो प्रतिभा देखाउन सक्ने हुनु भन्दै विद्यार्थीहरुलाई शुभकामना प्रदान गरे । उनले दुई महिना सिक्ने अनि अब यसलाई छाड्ने हो भने यो सिकाइको खासै अर्थ नरहने बताए ।
मार्सल आर्ट सिकाउने कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा चित्र बहादुर राना मगर रहेका थिए । उनले चितवन कोरिया पुनर्मिलन समाजले विद्यार्थीहरुलाई मार्सल आर्ट सिकाउने काममा आफूलाई बोलाएको प्रति धन्यवाद व्यक्त गरे । उनले कोरियाबाट आएका प्रशिक्षकहरुसँग पनि केही सिक्न पाइएको बताएका छन् ।
कार्यक्रम सहयोगी संस्थाका रुपमा रहेको प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले आफूले सिकेको ज्ञानलाई निरन्तरता दिँदै अगाडि बढाउन विद्यार्थीहरुलाई आग्रह गरे ।
समापन कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन कोरिया पुनर्मिलन समाजका उपाध्यक्ष दिल कुमार श्रेष्ठले विद्यार्थीले मार्सल आर्टका क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए ।
मार्सल आर्ट सिक्दा आफूमा निकै परिवर्तन आएको अनुभव हुनुका साथै मार्सल आर्टसँगै आत्म रक्षाको ज्ञान सिक्न पाएको भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।
समाजका प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठले कोरियामा हुँदा खेरी हामीले नेपालमा पनि केही गर्नुपर्छ भनेर चितवन कोरिया पुनर्मिलन समाजको गठन गरेको बताए । समाजले ४२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी चितवनका विभिन्न विद्यालयमा पढाइरहेको बताए ।
चितवन कोरिया पुनर्मिलन समाजले विगत लामो समयदेखि बालबालिकाको शिक्षा, स्वास्थ तथा खेलकुद साथै दैविक प्रकोपहरुमा राहत तथा उद्दार एवम् पुननिर्माणका क्षेत्रहरुमा काम गर्दै आइरहेको समाजका बालबालिका संयोजक एवम् सल्लाहकार इन्द्र प्रसाद न्यापोनेले जानकारी दिए ।
समापन कार्यक्रमका दिन चितवन कोरिया पुनर्मिलन समाजले नारायणी नमुना माविलाई खेलकुदका सामग्रीहरु समेत सहयोग गरेको छ । यस मार्सल आर्ट प्रशिक्षण कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।