चितवन,भदौ २४
जेनजीले चितवन बन्दको घोषणा गरेको छ । सार्वजनिक अपिल जारी गर्दै बन्दको आब्हान गरिएको हो । उनिहरुले बिहान ११ बजेदेखि भरतपुरको चौबीसकोठीबाट प्रदर्शन सुरु गर्ने जनाएका छन । चितवनमा जेनजीले आह्वान गरेको प्रर्दशनका क्रममा २३ जना घाइते भएका छन् । सोमबार भरतपुर महानगरपालिका अगाडि भएको झडपमा १५ जना प्रर्दशनकारी र ८ जना प्रहरी गरी २३ जना घाइते भएका हुन् । घाइतेहरुको उपचार चितवन मेडिकल कलेज लगायत भरतपुरका विभिन्न अस्पतालमा भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको अवस्था समान्य रहेको छ ।
झडपका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रूग्यास प्रहार गरेको उहाँले बताउनुभयो । चितवनको भरतपुरमा सोमबार दिनभर तनावग्रस्त बनेको थियो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको अर्यालले बताउनुभयो ।
महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको उहाँले बताउनुभयो । अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू तितरबितर बनेको उहाँले बताउनुभयो । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनकारीले साँझ पनि लायन्सचोकमा टायर बालेर प्रर्दशन गरेका थिए । चितवनमा आजपनि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अर्यालले आज परिस्थिती हेरेर निर्णय गरिने भन्दै आवश्यक परे कफ्यू समेत लगाइने बताउनुभयो ।
यसैविच चितवनका सबै संस्थागत विद्यालयहरु आज एक दिनका लागि बन्द हुने भएका छन । जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएको र विद्यार्थीहरुको मृत्यु भएका कारण शोकमा आज सबै विद्यालय बन्द गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले आज विद्यालय बन्द हुने समेत जानकारी दिनुभयो । सोमबारको जेन–जीले चितवनसहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए ।