काठमाडौं, २८ जेठ
नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेका छन् । त्रिशूली प्रसारण लाइन थ्री एको तारमा ती पुरूष झुण्डिएको ६ घण्टा बढी भइसकेको छ ।
शनिबार बिहान करिब १० बजेदेखि ककनी गाउँपालिका(७ मा रहेको प्रसारण लाइनको तारमा झुण्डिएका हुन् ।
बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विकलाई प्रहरी र स्थानीय मिलेर त्यहाँबाट तल झार्ने प्रयास गरिरहेका छन् । तर प्रयास अझै सफल भएको छैन ।
अहिले माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।
प्रहरीका अनुसार माइला प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् ।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘अहिले माथिल्लो त्रिशुली थ्री ए र त्यस नजिकैको खोलाबाट विद्युत उत्पादन बन्द गरेका छौं, ६०÷६२ मेगावाट विजुली निकाल्ने पानी नदीमा फाल्नुपरेको छ ।’
प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन् । ‘सम्झाई बुझाई गर्दा एक पटक तल झरिसकेका थिए, तर अहिले फेरि माथि नै रोकिएका छन्, प्रहरीको स्थानीय युनिट र स्थानीय वासिन्दा लागिरहेका छन्’ जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रामप्रकाश शाहले भने ।
‘माइला कहिले तारमा हिँड्छन्, कहिले पोलमा आउँछन् । मान्छे उक्लिएर जान पनि खतरा छ । खानलाई झर बाबु भन्दा पनि झरिरहेका छैनन् । तलसम्म आए पनि फेरि फर्किन्छन् ।’
प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ । जसकारण पनि उनको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
बिहान स्थानीयले उनलाई पोलमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । करेन्ट लाग्न सक्ने डरले विद्युत प्राधिकरणलाई पनि खबर गरिएको थियो ।