काठमाडौं जेठ ९
काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाटै पक्राउ परेका कैलाश सिरोहियालाई जनकपुर लगिएको छ । उनलाई अहिले बिहान जनकपुरस्थित धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा पु¥याइएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गरिएको हो ।
राति नै सिरोहियालाई प्रहरीको गाडीमा राखेर जनकपुर लगिएको थियो । एक व्यक्तिको उजुरीपछि उनलाई पक्राउ गरिएको थियो । तर सिरोहियाले भने गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गरी कान्तिपुरमा प्रकाशित समाचारको विषयलाई लिएर आफूलाई प्रतिशोध साँधिएको बताएका छन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिनुअघि एक विज्ञप्तिमार्फत् लामिछानेको समाचार लेखेको विषयमा पक्राउ गर्न पुर्जी जारी गरिएको बताएका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि सिरोहियाले गृहमन्त्री लामिछानेमा नवअधिनायकवाद देखिएको टिप्पणी गरेका छन् ।
कार्यकक्षबाट पक्राउ गरिएपछि उनले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्ट रहेको विषयमा कहिले अनुसन्धान गर्ने भनी प्रश्न गरेका थिए ।
“गृहमन्त्रीसँगत त दुईवटा पासपोर्ट छ । नवअधिनायकवाद देखिएको छ । कार्यकक्षबाट गिरफ्तार गरिएको छ । अन्तिमसम्म लड्छु,” उनले भने । सिरोहियाले परिवर्तनका पक्षमा आफूहरु जहिले पनि उभिएको बताउँदै अहिले पनि कान्तिपुर अन्तिमसम्म लडिरहने बताएका थिए ।
आफूलाई नागरिकताको विषयमा नभएर सहकारी बचत अपचलन प्रकरणमा लेखिएको समाचारको बदला लिइएको पनि उनको टिप्पणी छ ।