काठमाडौं,जेठ ८
उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ दम्पतीको नाममा ७ ठाउँमा घरजग्गा रहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा महासेठ र एमाले सांसद समेत रहेकी पूर्वमन्त्री जुलीकुमारी महतोको नाममा ७ ठाउँमा घरजग्गा रहेको पाइएको हो ।
ललितपुरमा २ रोपनी १३ आनामा बनेको घर र जनकपुरमा ३ कट्ठामा रहेको घर सम्पत्ति विवरणमा उल्लेख छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिगाहा ३ कट्ठा जग्गा रहेको पनि महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । जुलीको नाममा ललितपुरमै १ रोपनी ७ आना जग्गा तथा धनुषामा रघुवीरको नाममा १ बिघा १५ कट्ठा जमिन रहेको पाइएको हो ।
बैंकमा २ करोड २५ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ललितपुरको जग्गा पैतृक स्रोतबाट सो रकम प्राप्त भएको विवरणमा उल्लेख छ । जुलीको नाममा ४३ तोला सुन तथा डेढ किलो चाँदी रहेको पाइएको छ । सो गहना पैत्रिक तथा उपहारबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।








