काठमाडौँ, ८ जेठ
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न पुगेका छन् ।
मंगलबार संसद अवरुद्द गरे लगत्तै कांग्रेसका सांसदहरु सिरोहियालाई भेट्न पुगेका हुन्। कांग्रेस सांसदहरुले सिरोहियालाई भेटेर आफुहरु साथमा रहेको जानकारी गराएका छन्।
संसद भवनभित्रबाटै सांसद राजेन्द्र बजगाईले लोकतन्त्रको पहरेदार कान्तिपुरको पक्षमा खडा हुन आह्वान गरेका थिए ।
नागरिकता किर्ते गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ। सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो ।
आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।