२५ वैशाख, काठमाडौं ।
विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद हुने फैसला गरेको छ ।
मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई कैदसहित २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
७ वैशाख २०८१ मा विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणालीको अनियमिततामा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक पौडेललाई दोषी ठहर गरेको हो । भ्रष्टाचार मुद्दा लागेका सचिव मधुकुमार मरासिनीसहित ६ जनाले सफाइ पाएका थिए ।
भ्रष्टाचार मुद्दा लाग्दा पौडेल नेपाल टेलिकमका प्रबन्ध निर्देशक थिए । केही साताअघि मात्रै गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीमाथि मुद्दा दायर भएको थियो । विशेष अदालतले त्यतिबेला नै उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।