काठमाडौँ, २३ वैशाख
गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पूर्वको कोसीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र भोलि र पर्सी (मङ्गलबार) अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ ।
विभागमा मौसमविद् सरोज पुडासैनीले मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको जानकारी दिँदै अब बढ्दो आगलागीलाई प्रभाव पार्ने गरी ठाउँठाउँमा वर्षा हुने राससलाई जानकारी दिनुभयो ।
उहाँले हिजोदेखि नै तराईका जिल्लामा ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको जानकारी पनि दिनुभयो । यो क्रमशः घट्दै जाने उहाँले बताउनुभयो । हिजो काठमाडौँमा २९.५ डिग्री तापक्रम थियो । हिजो सबैभन्दा धेरै धनगढीमा ३९.३ र भैरहवामा ३८ डिग्री थियो । वर्षाको सम्भावना रहेकाले तल्काल तापक्रम नबढ्ने उहाँले बताउनुभयो ।
केहीदिनअघि यसपाली तापक्रम सबैभन्दा बढी भैरहवामा ४३.६ डिग्रीसम्म पुगेको थियो । पुडासैनीका अनुसार आज कोसीका केही स्थानमा र भोलि कोसी र गण्डकीका थोरै क्षेत्रमा पानी पर्ने र बाँकी पहाडी भूभागका केही क्षेत्रमा हल्लादेखि मध्यम वर्षाको सम्भावना छ ।
पर्सी भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिनुभयो । अब पर्ने पानीले कतिपय ठाउँमा भइरहेको आगलागी घटाउन सहयोग पुग्ने महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद् पुडासैनीले बताउनुभयो । उहाँका अनुसार सोही मौसमी प्रणालीका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । राष्ट्रिय समाचार समिति (रासस)