– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन १७ –
पवित्र तीर्थस्थल देवघाटको व्यवस्थापनका लागि देवघाट क्षेत्र विकास समिति रहेको छ । उक्त समितिले देवघाटको भूगोल फैलिएको तनहुँ, चितवन र नवलपुरलाई हेर्ने गर्छ । निश्चित भौगोलिक क्षेत्रमा व्यवस्थापन समितिले काम गरिरहेको छ । उक्त समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश । उहाँ क्षेत्र विकास समितिमा आएको तीन वर्ष दुई महिना भएको छ । अब उहाँको कार्यकाल सकिन ८ महिना बाँकी छ ।
देवघाट क्षेत्र विकास समिति यति खेर के गरिरहेको छ ?
देवघाटको धार्मिक महिमालाई अक्षुण्ण राख्ने काम गरेको छ । मठमन्दिरहरु, आश्रमहरु यिनीहरुको संरक्षण गर्ने, संवद्र्धन गर्ने, यिनीहरुको विकासका लागि टेवा पु¥याउने, पाटी पौवाहरु बनाउने, घाटहरु स्नान घाट, मसान घाट व्यवस्थापन गर्ने, बाटोहरुमा ढुंगा बिछ्याउने, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वयन गर्ने, बजेटहरु ल्याउने, विकास निर्माणका काम गर्ने, देवघाटका महिमा झल्किने खालका बाटाहरु बनाउने, विभिन्न किसिमका ठूलाठूला पर्वहरु बालाचतुर्दशी, बोलबम मेला, सूर्य ग्रहण, चन्द्र ग्रहण, माघे संक्रान्ति मेला जस्ता मेलाहरु जुन चाहीँ हामीले आह्वान गरेको होइन । यो स्वत हाम्रो धर्म संस्कृतिभित्र परेका मेला पर्वहरुमा मान्छेहरुको ठूलो घुइँचो आउँछ । ५ लाखदेखि ७ लाखसम्म मानिसहरु आउँछन् । यसको व्यवस्थापन गर्ने, सुरक्षाको व्यवस्थापन गर्ने, सुरक्षाको व्यवस्था गर्ने, उज्यालोको व्यवस्था गर्ने, उज्यालोको व्यवस्था गर्ने कामहरु गर्छाैं ।
देवघाट क्षेत्रविकास समितिको भौगोलिक कार्य क्षेत्र कति हो ?
तनहुँ, चितवन र नवलपुर गरी ५४ सय ३४ हेक्टरभित्र समितिको कार्यक्षेत्र पर्दछ । यो क्षेत्रमा नेपाल सरकारले गठन आदेशबाट २०५० सालमा यो समिति गठन गरेको हो ।
देवघाटमा आधुनिक कंक्रिटका संरचनाले पूरातत्विक झलक दिएको देखिँदैन । नुहाउने कुरालाईमात्र प्राथमिकतामा राखिएको देखिन्छ नी । अरु कुरा किन ओझेलमा परेका ?
अब देवघाटको सबैभन्दा महत्वपूर्ण काम भनेकै स्नान हो । यहाँ कालिगण्डकी छ । गोसाईंकुण्डदेखि बग्ने त्रिशुली नदी जसलाई स्वेत गंगा भनेर भनिन्छ । दामोदर कुण्डदेखि मुक्तिनाथ हुँदै बग्ने नदी जसलाई हामी कालिगण्डकी भन्छौं । कालीगण्डकी नदी भनेको शालिग्राम पाइने नदी हो । शालिग्रामलाई हामी भगवानको रुपमा पुज्छौं । शालिग्राम बगाएर लेराउँछिन् कालीनदीले । त्रिशुली नदी र कालीनदीको अन्तिम बिन्दु भएको देवघाटधाम हो । यो बेनी संगममा हुन्छ । त्यसपछि दुई वटै नदीको अन्त्य हुन्छ । र नारायणी नदीमा रुपान्तरण हुन्छ । यसमा स्नान गरियो भने जानेर नजानेर पनि कहिलेकाहीँ भएका त्यस्ता पापहरु छन् भने मोक्ष प्राप्त हुने, पाप पतन्य हुने, यहाँ स्नान गरिसकेपछि भन्ने एउटा विभिन्न पुराणहरुमा, स्कन्द पुराणहरुमा लेखिएको हुनाले यसको ठूलो धार्मिक महिमा छ ।
जसरी हरिद्वारमा गएर भागिरथी नदीमा नुहाइन्छ । स्नान गरिन्छ । त्यसैगरी कालिगण्डकीको बेनी संगममा स्नान ग¥यो भने जीवनको ठूलो मोक्ष प्राप्त हुन्छ भनेर लेखिएको हुनाले देवघाटको महत्व नै स्नानमा रहेको छ ।
देवघाट तीन जिल्लाको तीन वटा स्थानीय तहसँग जोडिएको छ । यहाँहरुले यी तीन स्थानीय तहसँग कसरी तालमेल गरिरहनु भएको छ ?
चितवनतर्फको हामी भरतपुर महानगरपालिकासँग समन्वयन गर्छाैं । ठूला मेला पर्वहरुमा भरतपुर महानगरबाट सहयोग प्राप्त भएको छ । तनहुँतर्फ देवघाट गाउँपालिका हो । यो गाउँपालिकाबाट पनि राम्रै सहयोग छ । हामीले राम्रो समन्वयन गरिरहेका छौं । यस्तै नवलपरासी सुस्ता (पूर्व) को गंैंडाकोट नगरपालिकासँग पनि समन्यवन गरिरहेका छौं । गैंडाकोटको मौलाकालीका मन्दिरसम्म देवघाटको भौगोलिक कार्य क्षेत्र हो ।
अब हाम्रा कतिपय आर्थिक पक्षहरु बलियो नभएका हुनाले धेरै आर्थिक सहयोग देवघाट क्षेत्रविकास समितिलाई नभएता पनि गर्न सक्ने अवस्थामा र चाहिएको बेलामा तीन वटै स्थानीय सरकारले हामीलाई सहयोग गरिरहेको अवस्था छ ।
आश्रमहरुसँग क्षेत्र विकास समितको भूमिका के रहन्छ ?
तनहुँतर्फ भएका आश्रमहरु सरकारी हुन् । ती सबैमा क्षेत्रविकास समितिकै व्यवस्थापन हुन्छ । तनहुँतर्फ भएका सबै आश्रम उत्कृष्ट छन् । सबै लोककल्याणकारी काम गर्ने छन् । तर चितवनतर्फ पनि लोककल्याणकारी काम गर्ने आश्रमहरु त छन् । तथापि केहीकेही आश्रमहरु नितीनियमभन्दा बाहिर आश्रम चलाएको । पैसा लिने गरेको । त्यो पनि चर्काे शुल्क लिने गरेको भन्ने गुनासाहरु आएका छन् । त्यसलाई हामीले छलफलको प्रक्रियामा लगेर सकेसम्म धार्मिक विद्यार्थीहरु तथा वृद्धबाआमालाई सुविधा दिनुपर्छ । हामी यो पवित्र ठाउँमा गर्ने कार्यहरु पुण्य काम हुनुपर्छ । भन्ने मान्यता सिंगो समितिले बोकेको छ ।
देवघाटमा कति आश्रम छन् । कस्ता खालका आश्रम छन् । कति आश्रममा शुल्क लिने गर्छन् ?
चितवनतर्फ दुई वटा आश्रमहरुले केही रकम लिने गरेका छन् । एउटा एनआरएन र अर्काे रोटरीले स्थापना गरेको हो । ती आश्रमहरुमा पैसा लिएर सेवा राम्रै गरेको जस्तो लाग्छ । तनहुँतर्फ सरकारी वृद्धाआश्रम हुन् । ती सबैको पूरै अध्यक्ष म आफै हो । ती आश्रमहरुमा बढीभन्दा बढी दाताहरुले सहयोग गर्नुहुन्छ । बाआमाहरुलाई एक रुपैयाँ पनि पैसा लिँदैनौं । बाआमाहरुको खानपान, औषधीउपचार, बस्ने व्यवस्था सबै देवघाट क्षेत्रविकास समितिले मिलाएको छ ।
देवघाटमा संस्कृत पनि पढाइ हुन्छ । यस्ता विद्यालयहरु कति छन् ?
यो संस्कृत शिक्षाको खानी नै हो । यहाँ गुरुहरु उत्पादन हुन्छ । यहाँ पूर्व मध्येमादेखि लिएर आचार्यसम्मको पढाइ हुन्छ । तनहुँतर्फ तीन वटा संस्कृति विद्यालयहरु रहेका छन् । चितवनतर्फ एउटा विद्यालय रहेको छ । करिब ९ सयदेखि १ हजारसम्म विद्यार्थीले देवघाटमा पढ्छन् ।
देवघाट क्षेत्रविकास समितिमा कोको हुनुहुन्छ ? कति जनाको समिति हो यो ?
२०५० सालमा नेपाल सरकारको गठन आदेशबाट यो समिति निर्माण भएको हो । समितिको अध्यक्षमा बद्रिप्रसाद अधिकारी हुनुहुन्छ । उहाँको अध्यक्षतामा २४ सदस्यीय बोर्ड छ । बोर्डमा देवघाटको भौगोलिक क्षेत्रभित्रका सांसदहरु, तीन वटा स्थानीय तहका प्रमुख, देवघाटसँग जोडिएका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वयन समितिका प्रमुखहरु रहेका हुन्छन् । अध्यक्ष र कार्यकारी निर्देशक लगायतका व्यक्तिहरु संघीय सरकारको निर्देशनमा ४ वर्षे कार्यकालका लागि देवघाट आएका हौं । मेरो कार्यकाल सकिन अब ८ महिनामात्र बाँकी छ ।