काठमाडौँ, वैशाख २४-
रातमा समयमै सुत्ने, ढिलोसम्म मोबाइल नचलाउने र पूरा आठ घण्टाको निद्रा पूरा गर्ने गर्दा पनि बिहान उठ्ने बित्तिकै शरीर गलेको महसुस हुने, आँखा भारी हुने र दिनभर थकानले नछोड्ने समस्या धेरैमा देखिन्छ।
यसलाई सामान्य ठानेर बेवास्ता गर्नु गम्भीर गल्ती हुन सक्छ। कतिपय अवस्थामा शरीरले यसरी कुनै गम्भीर स्वास्थ्य समस्याको सङ्केत गरिरहेको हुन्छ।
यस विषयमा हर्टफोर्ड हेल्थकेयर मेडिकल ग्रुपका स्लिप स्पेसलिस्ट डा। स्टिभन थाउका अनुसार सुत्ने घण्टा पूरा हुनु मात्र पर्याप्त हुँदैन, बरु निद्रा कत्तिको गहिरो र आरामदायी रह्यो भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। धेरै मानिस ओछ्यानमा आठ घण्टा त बिताउँछन्, तर उनीहरूको शरीर वास्तविक आरामको अवस्थासम्म पुग्नै पाउँदैन।
सुतेको समयमा शरीर विभिन्न चरणहरूबाट गुज्रिन्छ। यसमा हल्का निद्रा, गहिरो निद्रा र आरईएम (रैपिड आई मुभमेन्ट) स्लिप समावेश हुन्छन्। यदि कुनै कारणले रातमा बारम्बार निद्रा बिथोलिइरह्यो भने शरीर गहिरो निद्राको तहसम्म पुग्न सक्दैन।
यही कारणले गर्दा बिहान उठ्दा थकान महसुस हुन्छ। मानसिक तनाव, कोठाको होहल्ला, ढिलाभएसम्म स्क्रिन हेर्ने बानी र बढी क्याफिनको सेवन जस्ता कुराले गहिरो निद्रा लाग्न दिँदैनन्।
यसरी लगातार भइरहने थकानको पछाडि ‘स्लिप एप्निया’ नामक गम्भीर रोग पनि हुन सक्छ। यो यस्तो अवस्था हो जसमा सुतेको बेला व्यक्तिको सास केही सेकेन्डका लागि रोकिन्छ। डा। थाउका अनुसार धेरै मानिसलाई आफूलाई यो समस्या भएको थाहै हुँदैन, तर मस्तिष्कले बारम्बार शरीरलाई सास फेर्नका लागि जगाइरहन्छ।
यसले गर्दा निद्रा पूरा भए पनि शरीरले आराम पाउँदैन। ठुलो स्वरले घुर्नु, निद्रामा निसास्सिएको महसुस हुनु वा दिनभर अत्यधिक सुस्ती हुनु यसका मुख्य लक्षण हुन्।
यसबाहेक दैनिक फरक-फरक समयमा सुत्ने र उठ्ने गर्नाले पनि शरीरको प्राकृतिक घडी अर्थात् सार्केडियन रिदम बिग्रिन्छ। यही कारणले गर्दा बिदाको दिनमा ढिलैभएसम्म सुत्दा पनि मानिसहरू झन् बढी थाकेको महसुस गर्छन्।
हाम्रो खानपानको बानीले पनि निद्राको गुणस्तरमा सिधा असर पार्छ। ढिलो गरी भारी खाना खानु, मसलादार भोजन वा मदिरा सेवन गर्नुले रातमा बारम्बार निद्रा बिथोल्छ।
शरीरमा पानीको कमी हुँदा पनि छटपटी र थकान महसुस हुन्छ। मानसिक तनाव र चिन्ता पनि यसको ठुलो कारण हो। जब दिमाग लगातार सक्रिय रहन्छ, तब शरीर आरामको अवस्थामा पुग्न सक्दैन। यस्तो अवस्थामा ध्यान गर्ने, लामो सास फेर्ने बानी बसाल्ने र सुत्नुअघि शान्त वातावरण बनाउनाले फाइदा पुग्छ।
अस्वीकरणः यो जानकारी अनुसन्धान अध्ययन र विज्ञहरूको विचारमा आधारित छ। यसलाई चिकित्सा सल्लाहको विकल्प नमानी आफ्नो चिकित्सक वा सम्बन्धित विज्ञको सल्लाह अवश्य लिनुहोला।






