१९ मङ्सिर,भरतपुर ।
स्पाइनल कर्ड इन्जरी तथा न्युरोलोजिकल समस्याबाट प्रभावित व्यक्तिहरूका लागि चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर–चितवन युनिट ले सेवा सुरु गर्न लागेको छ ।
नारायणगढको न्युरोडमा स्थापित यो केन्द्र किफायती, पहुँचयोग्य र विशेषज्ञ पुनस्र्थापना सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको विहिवार भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यो युनिट स्पाइनल इन्जुरी संघ नेपाल ले स्थापना गरेको दोस्रो प्रमुख केन्द्र हो । संघले विगत २४ वर्षदेखि साँगामा सञ्चालन गर्दै आएको मोडेलअनुसार नै चितवनमा पनि हेरचाह, पुनस्र्थापना र सामुदायिक पुनर्एकीकरणका सेवा विस्तार गरेको जनाइएको छ ।
स्वर्गीय उदयकुमार पिया तथा श्रीमती चमेलीदेवी पिया परिवारको आर्थिक–भौतिक सहयोग, र रोटरी क्लब अफ चितवन को व्यवस्थापनमा केन्द्रको स्थापना गरिएको हो । प्राविधिक सञ्चालन स्पाइनल इन्जुरी संघ नेपालले गर्नेछ । यस सेन्टरबाट एकीकृत पुनस्र्थापना सेवा, स्पाइनल इन्जुरी तथा अपाङ्गता सम्बद्ध जनचेतना कार्यक्रम ,सेवाग्राहीका लागि सीप तथा व्यवसायिक पुनर्एकीकरण तालिम लगायतका सेवा दिइनेछ । रोटरी क्लब चितवनका अध्यक्ष रो. रबिन्द्र पियाले केन्द्रले नेपालमा विशेष पुनस्र्थापना सेवाको स्तर उकास्ने बताउनुभयो । “हाम्रो लक्ष्य उपचार मात्र होइन, व्यक्तिलाई स्वतन्त्र जीवनका लागि सक्षम बनाउनु हो,” उहाँले भन्नुभयो ।
स्पाइनल कर्ड इन्जरी भएका भरतपुर–१६ का समिरकुमार ठकुरीले चितवनमा केन्द्र स्थापना हुँदा सेवाग्राहीलाई उपचारका लागि टाढासम्म जानुपर्ने बाध्यता कम भएको बताउनुभयो ।
केन्द्रले मंसिर १९ गतेदेखि नियमित सेवा सुरु गर्नेछ । गुणस्तरीय पुनस्र्थापना सेवाका लागि प्रदेश तथा स्थानीय सरकार, सेवामूलक संस्था, अस्पताल र समुदायबीच सहकार्य आवश्यक रहेको केन्द्रले जनाएको छ ।









