काठमाडौँ, १२ मङ्सिर :
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभएको छ ।
काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभयो ।
सभापति देउवाले भन्नुभयो, “नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्नेक्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ । युवापुस्ता राम्रो आम्दानीको स्रोतको खोजीमा बाहिर बसाइँ सर्दैछन् । त्यसैले एसियाको धेरै खालको विकासको अवधारणामा साझा व्यवस्थापनको खाँचो रहेको छ ।” उहाँले युवालाई आवश्यकताअनुसार उद्यमशीलतामा जोड्न नसकिए अझै युवा विदेशिनेक्रम बढ्ने पनि बताउनुभयो ।
सभापति देउवाले विभिन्न सामाजिक मुद्दाहरूले भविष्यलाई नै चुनौती सिर्जना गरिरहेका सन्दर्भ जोड्दै बालविवाह, पोषण, शिक्षा आदिले समाजलाई प्रभाव पारिरहेको बताउनुभयो ।