काठमाडौं, मंसिर १०
जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ ।
सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै नचल्ने निर्णय गरेको हो ।
अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।
तर, उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।
पछि मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।
अनुसन्धानका क्रममा अधिकारीको पनि संलग्नता देखिएको भन्दै काठमाडौं प्रहरीले पूर्वमन्त्री अधिकारीलाई २६ कात्तिकमा बिराटनगरस्थित उनको निवासबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
तर, मुद्दा बुझाउने बेला आधार प्रमाणहरु हेर्दा उनलाई मुद्दा चलाउनुपर्ने स्थिति नदेखिएको भन्दै सरकारी वकिलले अन्य ११ जनालाई मात्र प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।