काठमाडौँ, २ मङ्सिरः
गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उहाँले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिनुहुँदै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग गहन छलफल भएको बताउनुभयो । “यात्रुवाहक सवारी साधनमा मालसामान नबोक्न र मालवाहक सवारी साधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ”, प्रवक्ता तिवारीले भन्नुभयो, “लामो दूरीका सवारी साधनमा दुईवटा चालक, यात्रुवाहक बसहरूमा टिकट अनिवार्य गरे/नगरेको विषयमा तत्काल जाँच गरेर लागू गर्न पनि निर्देश भएको छ ।”