काठमाडौँ, २९ कात्तिकः
भारतले स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ ।
गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले शुक्रबार मध्याह्न १२:४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुने जानकारी दिए । तर, यो याममा एक दिनमात्र निर्यात हुने उनले बताए ।
यसअघि भारतको सीईआरसीले अनुमति नदिएपछि नेपालबाट बंगलादेश विद्युत् निर्यात योजना अनिश्चित बनेको थियो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।