काठमाडौँ, कात्तिक २७-
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव) गुरुङ आजै कारागार चलान हुने भएका छन् । मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङलेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिसकेको छ ।
यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको उनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो ।
उनलाई ०६० सालमा अर्का गुन्डा नाइके मिलन गुरुङ (चक्रे) हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो । ०६९ सालमा उच्च अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।
अदालतमा पेसपछि उनी कैद भुक्तानका निम्ति कारागार चलान हुनेछन् । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङ निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।






