काठमाडौं कात्तिक २६
काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ४८ वर्षीय रामशरण अधिकारी, पञ्चकन्या गाउँपालिका ३ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका ५२ वर्षीय उत्तम पण्डित र नुवाकोटकै शिवपुरी गाउँपालिका ३ घर भइ काठमाडौंको गंगबु बस्दै आएका ३६ वर्षीय पल छिरिङ शेर्पा पक्राउ परेका हुन्।
यस्तै, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका ३ घर भइ हाल काठमाडौंको बसुन्धरा बस्ने २६ वर्षीय रमेश तामाङ र मकवानपुरको बकैया गाउँपालिका १ घर भइ काठमाडौंको मुलपानी बस्दै आएका २१ वर्षीय संजय मोक्तानलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट लक तोड्न प्रयोग हुने औजार समेत ट्राफिक प्रहरीले बरामद गरेको छ ।
नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यालयले जनाएको छ।
प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत(जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न भनेको छ।






