काठमाडौँ, कात्तिक २५-
काठमाडौँको नागार्जुन नगरपालिका–६ स्थित सिगारेपाटीबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । जुवा खालबाट सशस्त्र प्रहरी बलका पूर्व एसपी नागार्जुन–६ घर भएका ५७ वर्षीय राजु पाण्डे पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ५५ वर्षीय विजय कार्की, ६० वर्षीय विक्रम तामाङ, ३८ वर्षीय सोम लामा, ४५ वर्षीय विशेष सापकोटा र चन्द्रागिरि नगरपालिका घर भएका रामसिंह तामाङसहित १० जना छन् ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले जुवा खालबाट ७९ हजार नगद बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । आरोपीहरू स्थानीय दीपक कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
घटनास्थलबाट प्रहरीले ५ बुक तास बरामद गरेको छ । आरोपीहरूलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।






