काठमाडौँ, असोज २३-
उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् ।
मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले बताए ।
भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । दम्पतीको बिचमा करिब दुई वर्षदेखि राम्रो सम्बन्ध थिएन ।
सम्बन्ध सुधारेर सँगै बस्नेबारे छलफल हुँदा उनीहरूको बिचमा विवादपछि हत्या भएको थाहा भएको छ । हत्या गरेपछि उनले खुकुरीले टाउको काटेर बोकेर हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनीहरूका दुईजना बच्चा छन् । शमशेर तामाङको घरमा डेरा लिएर प्रमीलाले चियाको व्यापार गर्दै आएकी थिइन् ।






