– कमल बहादुर साउँद
“शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ। असल बानी सिकाउने शिक्षा व्यावहारिक हुन्छ । व्यावहारिक शिक्षा प्रविधिमा आधारित हुन्छ । प्रविधिमा आधारित प्राविधिक शिक्षा आजको आवश्यकता हो ।
आजको युग विज्ञान र प्रविधिको युग हो । त्यसैले कोरा किताबी शिक्षाभन्दा प्रविधिमा आधारित शिक्षा अति आवश्यक छ। एउटा भनाइ नै छ, हातमा सिप भए भोकै मर्नुपर्दैन। हो, यस्तै हो प्राविधिक शिक्षा। प्राविधिक शिक्षा लिनेहरूसँग हातमा सिप रहेको हुन्छ। यही सिपले उसलाई भोको बनाउँदैन।जुन व्यक्तिले देशका लागि साँच्चीकै केही गर्छु भनेर लागेको हुन्छ, त्यस्ता व्यक्तिले पढ्ने शिक्षा प्राविधिक नै हो।
प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु आवश्यक भइसकेको छ । जुन विषय अध्ययन गरिन्छ, त्यो सृजनात्मक बन्नु पर्छ । उत्पादक बन्न सक्नु पर्छ ।हाम्रो देश आर्थिक दृष्टिले, विकासनिर्माणका दृष्टिले, रोजगारीका अवसरको दृष्टिले पछाडि परेको छ । यसको मुख्य कारण प्राविधिक शिक्षाको विकास र विस्तार नहुनु नै हो ।अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सक्नु पर्छ । अनि मात्र मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवा जनशक्ति पलायन हुने क्रम पनि न्यूनीकरण हुने देखिन्छ ।
एइईको भर्खरै नतिजा सार्वजनिक भएको छ। प्राविधिक शिक्षा पढ्ने उच्च चाहना भएका लाखौं विद्यार्थीलाई आफ्नो रुचिअनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र होटेल मेनेजमेन्ट संकायमा यही शैक्षिक शत्र ०८१/०८२ मा भर्नाका लागि प्राविधिक शिक्षा तर्फ देशभरिका विभिन्न प्रदेशमा दलित,गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि ३७६३ काे संख्यामा वर्गिकृत छात्रवृत्तिका लागि आवेदन फर्म खुलेको छ । र देशका विभिन्न आंगिक र निजी शिक्षालयहरुले पनि पूर्ण शुल्कीय कोटा तर्फ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाकाे आवेदन फर्म खुलाएका छन् ।
यसै सन्दर्भमा प्रवेश परीक्षाको फर्म भर्ने काम धमाधाम सुरु भैरहेका बेला CTEVT विद्यार्थी नेता तथा CTEVT को कर्मचारी हुँ भन्दै प्रवेश परीक्षामा नाम निकालिदिन्छु भनी भ्रमात्मक कुरा गरी केही शैक्षिक माफिया दलालीहरु विद्यार्थीलाई झुक्याउने ठग्ने गरेको पाइन्छ । यति मात्र नभई फेक CTEVT ग्रुप खोली फेसबुक एकाउण्ट बनाई विद्यार्थीलाई झुक्याई विभिन्न अनैतिक क्रियाकलापबाट विद्यार्थीलाई जालमा पारी पैसा कमाउने उदेश्यले विद्यार्थीहरुसंग पैसाको डिल गर्ने र विद्यार्थीबाट पैसा असुल्न खोज्ने गिरोह धेरै बढेको देखिएको छ ।
यसले गर्दा आम विद्यार्थीमा प्राविधिक शिक्षाप्रति नकारात्मक असर पर्न गएको देखिन्छ। त्यसैले यस्ता दलालहरुबाट बच्न र सावधान हुन देशका सम्पूर्ण आम विद्यार्थी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।।
– लेखकका बारेमा
लेखक कमल बहादुर साउँद सिटिईभिटीको आंगिक शिक्षालय ‘स्कुल अफ हेल्थ साइन्स भरतपुर, चितवन’मा अध्ययनरत विद्यार्थी हुन् । उनी अनेरास्ववियु सिटिईभिटी राष्ट्रिय कमिटी सदस्य समेत हुन् ।