१९ वैशाख, काठमाडौं ।
नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेर रोकिएको डोजरले फेरि काम अघि बढाएको छ ।
सो ठाउँका करिब १०–१२ घरधुरी आफ्नो लालपूर्जा रहेको दाबी गरेपछि डोजर रोकिएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार, छानबिनका लागि खटिएको सरकारी टोलीले सो क्षेत्रका घरहरू भत्काउनुपर्ने निष्कर्ष निकालेको हो ।
‘नदी किनारबाटै जग उचालेर घर बनाएको निष्कर्ष टोलीले सुनाएको छ,’ सीडीओ पौडेलले भने, ‘अहिले ती घरहरूमा डोजर चलाउने काम सुरु भएको छ ।’
उनका अनुसार, ती घरहरू मापदण्ड विपरीत बनेको देखिएको हो ।
पछि पर्याप्त छानबिनपछि यदि नदी किनारको जग्गाबाहेकमा घरधनीको जग्गा देखिए त्यो जग्गा भने फिर्ता हुनेछ ।
घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएपछि सरकारी टोली खटिएको थियो ।
८ जनाको सरकारी टोलीले जग्गाको वास्तविकता पत्ता लगाएपछि अहिले पुन: डोजर चलाइएको सीडीओ पौडेलले बताए ।






