काठमाडौं जेठ २६,
देशभर अचाक्ली गर्मी बढेको छ । वर्षा नहुँदा गर्मी बढ्दै जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विभागले बिहीबार जनाएअनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले तापक्रमको अहिलेसम्मकै सबै उच्च रेकर्ड तोडेका छन् । यस्तै अरु १३ स्टेशनहरुले पनि यो वर्षको जुन महिनाको सबै रेकर्ड तोडेका छन् ।
महाशाखाका अनुसार नवलपुरको दुम्कौलीको तापक्रम बुधबार ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । जुन रेकर्ड गरिएकोमध्ये सर्वाधिक तापक्रम हो । यस्तै गौरको तापक्रम ४३ रेकर्ड गरिएको छ । गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । यस्तै जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराईका जिल्लाहरुमा गर्मी अझै बढ्ने र लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएका कारण तातो हावा चल्ने जनाएको छ ।
शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यसबारे जानकारी गराएका हो । महाशाखाले कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा भने मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
अत्यधिक गर्मी तथा मेघगर्जन, चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
यसैबीच सांसहरूले तराई–मधेशमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएकाले आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेशका जिल्लामा गर्मीका कारण लू चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत् आपूर्ति नियमित गर्न माग गरिन् ।
सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएको अवस्थामा समाधानका आवश्यक उपाय अपनाउन माग गरे ।















