बागमती, वैशाख ४ –
स्वास्थ सेवामा सबै नागरिकको सहज पहुँच पुर्याउन बागमती प्रदेश सरकारले स्वास्थ्य सेवाको स्तरोन्नतिसँगै विस्तारलाई जोड दिएको छ ।
प्रदेशका हरेक नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन १३ वटै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर स्तरोन्नतिसँगै विशेषज्ञ सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिइएको जनाएको छ ।
जिल्ला जिल्लामा डाईलोसिस तथा प्रसूति तथा स्त्रीरोग सेवा विस्तार गरिरहेको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभरका प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा डिजिटल हेल्थमार्फत सेवा प्रवाहको काम अघि बढाइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले बताउनुभयो ।
स्वास्थ्य सेवामा सुधार गरी सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकारले ‘एक जिल्ला एक हेल्थ सिटी’, ‘एक विद्यालय एक नर्स’ र ‘एक पालिका एक नमुना अस्पताल’लगायत कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा प्राप्त गर्न लाइनमा बस्नुनपर्ने भएको छ । मन्त्रालयले स्वास्थ्य संस्थामा अनलाइन टिकटको व्यवस्था गरेको छ । निःशुल्क रक्तसञ्चार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरी निःशुल्क रक्तसञ्चार सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको प्रदेश सरकारले नेपाल रेडक्रस सोसाइटीमा गरिब तथा विपन्न नागरिकहरुका लागि निःशुल्क रक्तसञ्चार सेवा प्रादेशिक अस्पतालबाट उपलब्ध हुने व्यवस्था मिलाएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन कार्यविधि २०७९ लाई संशोधन गरी प्रदेशका सबै वडाहरुमा नसर्ने रोगको परीक्षण र बिरामीलाई उपचारको व्यवस्था मिलाइएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसँग सामञ्जस्यता हुने गरी ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी एक घण्टा, मेरो लागि’ कार्यक्रम समुदायस्तरमा सञ्चालन गरिरहेको प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई प्रदेशका १३ वटै अस्पतालमा निःशुल्क मानसिक चिकित्सकीय उपचार सेवा प्रदान गरेको छ ।
प्रदेशका हेटौँडा उपमहानगरपालिका, चन्द्रागिरि नगरपालिका, मेलम्ची नगरपालिकालाई स्वास्थ्य सहरको अवधारणा कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारले प्रदेशका हरेक जिल्लाका कम्तीमा एउटा स्वास्थ्य संस्थालाई नमुना स्वास्थ्य संस्थाका रुपमा विकास र विस्तार गर्ने प्रक्रिया सुरुआत गरेको छ ।
भक्तपुर, सिन्धुली, बकुलहर र धादिङ अस्पतालमा नर्सिङ प्रमाणपत्र तह कार्यक्रम सञ्चालन गर्ने प्रक्रियाका लागि प्रारम्भिक क्रियाकलाप सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालमा डाइलाइसिस सेवाको सुरुआत गरेको छ ।
आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक सेवा विस्तार गर्न लागेको प्रदेश सरकारले सिन्धुली जिल्लामा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक सेवा सञ्चालन भइसकेको र मकवानपुर तथा रामेछाप जिल्लामा चाँडै आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक सेवा सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री थापामगरले बताउनुभयो ।
आयुर्वेद औषधि उत्पादन केन्द्रबाट अन्धगन्धा, सितोपलादी, आमलकि, अविवत्तिकर, त्रिफला, निम्वादी, विल्वादी, हिङ्गवाष्टक, महासुदर्शन, पुष्यानुग गरी १० प्रकारका चुर्ण आयुर्वेद औषधि उत्पादन र निःशुल्क वितरण गरेको मन्त्रालयले चालु आर्थिक वर्षदेखि थप ११ प्रकारका औषधि उत्पादनको प्रक्रिया अगाडि बढाएको छ ।
एमडी एवं एमएसका सात वटा कार्यक्रम सञ्चालन गर्दै आएको बागमती प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबिबिएस कार्यक्रमअन्तर्गत ५० जना विद्यार्थीलाई अध्यापन सुरु गरिएको मन्त्री थापामगरले बताउनुभयो ।
सीमान्तकृत, लोपोन्मुख आश्रममा आश्रित आपाङ्गता ‘ख’ वर्गका व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका र श्रमजीवी पत्रकारहरुका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुहुँदै प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले प्रदेश सरकारले सबै नीतिमा स्वास्थ्य निर्देशिक जारी गरिएको जानकारी दिनुभयो । रासस










