काठमाडौँ, वैशाख ३-
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली काँग्रेसका साँसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।
बिहीवार संघीय संसद सचिवालयमा उहाँले उम्मेद्वारी दर्ता गराउनुभएको हो । नेपाली काँग्रेसले खड्कालाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । खड्कालाई विपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन गरेका छन् । यस्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले पनि सार्वजानिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ । सभापतिमा उम्मेद्वारी दर्ता गरेपछि सांसाद खड्काले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने परम्परा रहेको बताउनु भयो । उहाँले सर्वसहमतिमा आफू सभापति हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो प्रमुख प्रतिपक्षी दललाई नै सहमतिमा दिने भन्ने कुरा छ । यो जितहारको विषय नहोला, सर्वसम्बत तरिकाले निविरोध हुन्छ होला ।’
बिहीवार प्रतिनिधि सभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ । सोहीअनुसार उम्मेद्वारी दर्ता भइरहेको छ । सत्तारुढ दल रास्वपाले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ । रास्वपाको सबै समितिमा बहुमत रहेको छ ।










