काठमाडाैं फागुन २९,
ललितपुर महानगरपालिकाले देशमै पहिलोपटक स्थानीय तहमा ‘सडक सुरक्षा शिक्षा’ सम्बन्धी नयाँ पाठ्याक्रम समावेश गरेको छ ।
महानगरपालिकाले आज ९सोमवार० एक कार्यक्रम आयोजना गरेर ललितपुर महानरभित्रका विद्यालयहरूमा पठनपाठन हुने गरी आधारभूत तहको ‘सडक सुरक्षा शिक्षा’ सम्बन्धी नयाँ पाठ्यक्रम समावेश गरेको जानकारी गराएको हो ।
‘स्थानीय तहमार्फत शिक्षालाई माथि ल्याउने उद्देश्यले हामीले सडक सुरक्षाको विषयलाई विद्यालयको पाठ्यक्रममै समावेश गरेका छौं,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने, ‘सामाजिक क्षेत्रको बेस बनाउन पनि सडक सुरक्षा आवश्यक छ ।’
उनका अनुसार यो किताबमा विद्यालय तहका विद्यार्थीहरूलाई सडक सुरक्षाको विषय कार्टून, फोटोहरू र अक्षरका माध्यमबाट सिकाउने प्रयास गरिएको छ ।
पाठ्यक्रममा ट्राफिक नियमहरू, सडकमा हुने दुर्घटनाका कारण, ट्राफिक चिह्नहरूका बारेमा जानकारी दिइएको छ ।
‘यो पाठ्यक्रमले सडक दुर्घटनाका विषय र ट्राफिक नियमका बारेमा तल्लो तहबाटै जानेर विद्यार्थीहरू आउँछन् भन्ने विश्वास लिएका छौं,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने ।
ललितपुर महानगरपालिकाले नयाँ–नयाँ विषयहरूको खोजी गरेर लागू गर्दै आएकाले त्यसैअन्तर्गत यो पाठ्यक्रम पनि समावेश गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए । उनले दक्षिण एसियामै पहिलोपटक सडक शिक्षा विद्यालयको पाठ्यक्रममा समावेश भएको दाबी मेयर महर्जनले गरे ।
‘सम्भवतः दक्षिण एसियामै ललितपुर महानगरपालिका पहिलो हुन सक्छ सडक सुरक्षाको विषय पाठ्यक्रममा राख्ने,’ मेयर महर्जनले भने, ‘हामीले नयाँ–नयाँ विषयहरूको खोजी गरेर लागू गर्नेछौं जसले जनतालाई सहज हुन्छ ।’
अघिल्लो कार्यकालमा साइकल लेनको नयाँ शुरूआत गरेको र त्यसको सिको देशका अधिकांश स्थानीय तहहरूले गरेको बताए । आगामी दिनमा ललितपुर महानगरपालिकालाई अँध्यारो मुक्त बनाउने योजना रहेको मेयर महर्जनले बताए ।
यस्तै उपमेयर मञ्जली शाक्य बज्राचार्यले पहिले ललितपुरलाई शिक्षाको ‘हब’का रूपमा हेरिने गरिएको बताइन् । आगामी दिनमा ललितपुरलाई शिक्षाको राजधानी बनाउन प्रयास भइरहेको उनले बताइन् ।
‘अहिले शिक्षाको हब मानिन्छ, तर अब आगामी दिनमा ललितपुरलाई क्यापिटल अफ एजुकेसन बनाउने योजनामा छौं,’ उपमेयर शाक्यले भनिन्, ‘यो पाठ्यक्रम यसको शुरूआत हो हामीले अन्य व्यावहारिक शिक्षाहरू पाठ्यक्रममा थप्दै लैजाने छौं ।’
ललितपुर महानगरपालिका नगरपालिका महासंघबाट सामाजिक क्षेत्रमा उत्कृष्ट घोषित भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले कार्यक्रममा जानकारी गएका थिए । महासंघले देशभरका नगरपालिकाहरूले गरेको कामका आधारमा ५ वटा विधामा उत्कृष्टलाई सम्मानित गर्दै आएकोमा यसपालि सामाजिक क्षेत्रको सम्मान ललितपुर महानगरपालिकाले पाएको उनले बताए ।
लामो समय ट्राफिक प्रहरीमा सेवा गरेर अवकाश पाएका सीताराम हाछेथुको पहलमा पाठ्यक्रम तयार पारेर विद्यालयस्तरमा लागू गर्न लागिएको हो ।
उनले विद्यालयस्तरबाट नै ट्राफिक नियमहरूको बारेमा जानकारी दिनुपर्ने भन्दै वकालत गर्दै आएका थिए ।
अहिले सडक सुरक्षा शिक्षाको प्रधानसम्पादकको रूपमा रहेर पाठ्यक्रम तयार पार्न पाउँदा आफूलाई खुशी लागेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख हाछेथुले बताए ।
‘मैले पहिलेदेखि नै ट्राफिक सुरक्षा र नियमका बारेमा विद्यालय स्तरबाट नै ल्याउनुपर्छ भन्दै आएको थिएँ, अहिले ललितपुर महानगरपालिकामा जोडिएपछि शुरूआत गर्ने अवसर पाएको छु,’ नगर प्रहरी प्रमुख हाछेथुले भने ।
विद्यालय तहबाटै ट्राफिकसम्बन्धी शिक्षा प्रदान गर्ने हो भने यसले पछिसम्म निकै सकारात्मक प्रभाव छाड्ने उनको भनाइ छ ।










