काठमाडौं, असोज ५-
नेपालको पूर्वी तराईमा रहेको चन्द्र नहर सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले झन्डै दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ ।
यसैगरी काठमाण्डौ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले १४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग प्रदान गरेको छ ।
वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदर रहेको यो सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ ।
नेपालको तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा जापानको तर्फबाट नेपालका लागि राजदूत किकुता युताका र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले आज बुधवार अर्थ मन्त्रालयमा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा अर्थ सचिव पुष्करले सम्झौताअनुसारका आयोजना कार्यान्वयनबाट नेपालको सिँचाइ सुविधाको सुधार गर्न तथा बिजुली आपूर्तिको विश्वसनीयता बढाउन तथा प्रसारण चुहावट न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
नेपालको सामाजिक–आर्थिक एवम् मानव संशाधन विकासमा जापान सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गर्दै उनले दुई देशबीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
नेपालका लागि जापानी राजदूत युताकाले उपलब्ध सहयोगबाट नेपालको कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र सहरी क्षेत्रको बिजुली व्यवस्थापनमा सहयोग रहने धारणा व्यक्त गरे ।










