काठमाडौं, जेठ २१ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा।धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममा उनीहरूले राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा कार्यक्रममा बोल्दै डा। राणाले आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको बताए । उनले यसलाई खुसीभन्दा पनि दुःखद दिनका रूपमा चित्रण गर्दै आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट अघि बढाउन नसकिएको बताए ।
उनले भने, ‘हामीले आफ्नो घरैबाट छाड्नुपर्ने अवस्था आयो । यो खुसीको होइन, दुःखको दिन हो । जब आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लगाउन सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब हिम्मत गरेर त्यो घर छाड्नुपर्छ र अर्को घर निर्माण गर्नुपर्छ ।’
डा। राणाले विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा अघि बढाउन प्रयास गरेको दाबी गरे ।
उनले पार्टीको आन्दोलनको नेतृत्व गरेको, संगठन सुधार गर्न खोजेको तथा राप्रपालाई राष्ट्रकै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको बताए ।
‘मैले राप्रपालाई सही बाटोमा, एजेन्डा प्राप्तिको बाटोमा लैजान खोजेको थिएँ । आन्दोलनको नेतृत्व गरेको थिएँ । पार्टीलाई सुधारेर राष्ट्रकै बलियो पार्टी बनाउन चाहेको थिएँ । तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन,’उनले भने ।
उनले पार्टी नेतृत्वप्रति प्रत्यक्ष आरोप नलगाउँदै आफूले छाडेको ‘घर’ अर्थात् पार्टी र त्यहाँ रहेका साथीहरूका विषयमा गुनासो नगर्ने पनि बताए । यसैगरी उनले राष्ट्रवादी शक्ति यो देशमा निर्माण गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सबै राष्ट्रियता बोकेका, हिन्दु अधिराज्य खोजेका, यो देशमा भ्रष्टाचार हटाउन खोज्ने सबै एकजुट हुन आह्वान गरे ।















