भरतपुर, चितवन ।
ब्लड डोनर्स सोसाइटी नेपाल चितवन जिल्ला शाखाले दोस्रो ऐतिहासिक रक्तदान महोत्सव आयोजना गर्ने निर्णय गरेको छ। आज बसेको जिल्ला शाखाको बैठकले महोत्सवलाई भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यसहित चितवन जिल्ला शाखाका अध्यक्ष एकराज बुर्लाकोटीलाई महोत्सव मूल संयोजकको जिम्मेवारी प्रदान गरेको हो।
बैठकले महोत्सव सफल पार्न ९ सदस्यीय स्टेरिङ समिति समेत गठन गरेको छ। समितिको संयोजकमा एकराज बुर्लाकोटी रहेका छन् भने सदस्यहरूमा संस्थाका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, केन्द्रीय अध्यक्ष अन्जन दवाडी, रक्तभियन्ता राजेन्द्र प्रसाद पौडेल, मनरुपा पौडेल, बालचन्द्र पोखरेल, नारायण शर्मा, रामचन्द्र लम्साल तथा राज सिल्वाल रहेका छन्।
बैठकले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने, नयाँ रक्तदाता उत्पादन गर्ने तथा समाजमा मानवीय सेवाको भावना विस्तार गर्ने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जनाएको छ। रक्तदानमार्फत बिरामीहरूको जीवन रक्षामा योगदान पुर्याउने तथा युवापुस्तालाई सामाजिक सेवामा प्रेरित गर्ने लक्ष्यसहित महोत्सवको दोस्रो संस्करण आयोजना गर्न लागिएको बैठकको निष्कर्ष रहेको छ।
उक्त दोस्रो ऐतिहासिक रक्तदान महोत्सव विश्व रक्तदाता दिवसको अवसर पारेर यही जेठ ३० गते आयोजना गरिने भएको छ। महोत्सवमा रक्तदाताहरूको उत्साहजनक सहभागिता गराउन विभिन्न आकर्षक उपहार सामग्रीको व्यवस्था गरिएको आयोजकले जनाएको छ। साथै सहभागी रक्तदाताहरूलाई गोलाप्रथा मार्फत विशेष उपहार प्रदान गरिने कार्यक्रम समेत तय गरिएको छ।
ब्लड डोनर्स सोसाइटी नेपाल चितवन जिल्ला शाखाले सम्पूर्ण रक्तदाता, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई मानव सेवाको महान अभियानमा साथ दिन आग्रह गरेको छ।






