चितवन, वैशाख २५ —
विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पसद्वारा क्याम्पस परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। मानव सेवा, सामाजिक उत्तरदायित्व तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रम बिहान क्याम्पस परिसरबाट सुरु भएको थियो। कार्यक्रममा युवा रेडक्रस सर्कलका पदाधिकारी, स्वयंसेवक विद्यार्थी, विभिन्न क्लब तथा समितिका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले क्याम्पस परिसरका विभिन्न स्थानमा फैलिएको फोहोर संकलन गर्नुका साथै सरसफाइप्रति सचेतना फैलाउने कार्यसमेत गरेका थिए।
कार्यक्रमका क्रममा बोल्दै आयोजक पक्षले स्वच्छ वातावरणले मात्र स्वस्थ र सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न सकिने उल्लेख गरेका थिए। सरसफाइ केवल एकदिने अभियान नभई हरेक व्यक्तिको दैनिक जिम्मेवारी भएको धारणा पनि व्यक्त गरिएको थियो।
युवा रेडक्रस सर्कलले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। विश्व रेडक्रस दिवसको अवसरमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सेवा, अनुशासन, सहकार्य तथा मानवताप्रतिको भावना अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले क्याम्पसलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताएका थिए। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहयोगीप्रति युवा रेडक्रस सर्कलले

आभार व्यक्त गरेको छ।





