भरतपुर, चैत २८ –
भरतपुर महानगरपालिका–२५ अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। दया हेल्थ केयर सेन्टरको प्राविधिक सहयोग, अमृतचोक टोल विकास संस्थाको आयोजनामा तथा भरतपुर–२५ वडाको संरक्षकत्वमा शिविर सम्पन्न गरिएको हो।
शिविर अमृत आमा समूहको भवनमा सम्पन्न भएको थियो, जहाँ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. शुभकान्त गौतमको उपस्थितिमा सेवा प्रदान गरिएको थियो।
शिविरबाट करिब १०० जनाले स्वास्थ्य सेवा लिएका छन् भने सेवाग्राहीलाई आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। निःशुल्क औषधि प्राप्त भएपछि सेवाग्राहीहरू सन्तुष्ट देखिएका थिए।
कार्यक्रममा भरतपुर–२५ का वडा अध्यक्ष छबिलाल सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले छाला सम्बन्धी रोगको निःशुल्क स्वास्थ्य शिविर वडामा सञ्चालन भएकोमा टोल विकास संस्था र दया हेल्थ केयर सेन्टरलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रम संयोजक एवं युवा समाजसेवी परमेश्वर चालिसेले विगतमा वडा नं. २४ मा समेत यस्तै शिविर सम्पन्न भइसकेको उल्लेख गर्दै वडा नं. २५ का स्थानीयलाई सेवा गर्न पाउँदा खुशी लागेको बताए।
त्यस्तै, डा. शुभकान्त गौतमले छाला सम्बन्धी स्वास्थ्य सचेतना प्रदान गर्दै यो आर्थिक वर्ष २०८२ को यो १० औँ निःशुल्क स्वास्थ्य शिविर भएको जानकारी दिए। उनले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको प्राविधिक सहयोग मोहन तिवारी, टिका प्रसाद पंगेनी र शिव नेपालीले गरेका थिए।
अमृतचोक टोल विकास संस्थाकी अध्यक्ष निर्जला भुजेलले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा यस्ता कार्यक्रम अघि बढाउने बताइन्।











