महेन्द्रनगर, २१ मङ्सिर :
जनकपुरधाममा सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु यहाँ आइपुगेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा उल्लेख्य दर्शनार्थी जनकपुरधाम आएका छन् ।
त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्न नेपाल र भारतका साथै तेस्रो मुलुकबाट समेत दर्शनार्थी जनकपुरधाम आइपुगेका छन् । प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्ती पनि यहाँ आएका छन् । अयोध्याबाट राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद्का केन्द्रिय मन्त्री राजेन्द्रसिंह पङ्कजसहितको टोली पनि यहाँ आइपुगेको छ ।
जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष वैवाहिक कार्यक्रमको आयोजना हुने गर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जस्तै मण्डप सजाइन्छ । जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ सिँगारिएको छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वरदास वैष्णवले भन्नुभयो, “यहाँ आउने दर्शनार्थीलाई छोरीको बिहेको आयोजना गरिरहेको जस्तै अनुभव हुन्छ ।” महन्त दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुनुहुन्छ । राम मन्दिरका महन्तबाबा राम गिरी राजा दशरथको भूमिकामा हुनुहुन्छ । महन्त गिरिले भन्नुभयो, “सीताजस्ती बुहारी पाउने भएपछि हर्षविभोर हुनु स्वभाविक नै हो ।” त्रेता युगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शनविधि गरिन्छ । यसमा राम लक्ष्मणको प्रतीकस्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ ।






