काठमाडौं चैत ५,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् बैठकमा उपस्थित भएर पनि विधेयक पेश गर्न अर्को मन्त्रीलाई खटाएको भन्दै नेकपा एमालेले विरोध गरेको छ ।
आइतवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्, काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक टेबल गर्ने कार्यसूची थियो ।
‘प्रधानमन्त्री उपस्थित नभएका कारण’ भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीका तर्फबाट सञ्चार मन्त्री रेखा शर्मालाई विधेयक प्रस्तुत गर्न अनुमति दिए ।
प्रधानमन्त्री संसदमै रहेका बेला उनका तर्फबाट मन्त्री रोस्ट्रममा पुगेपछि एमाले सांसदहरूले आपत्ति जनाए ।
‘प्रधानमन्त्री नै उपस्थित भएको बैठकमा सभामुखले प्रधानमन्त्रीलाई निर्देश गर्नुपर्यो,’ एमाले सचिव योगेश भट्टराईले नियमापत्ति गर्दै विरोध जनाए ।
त्यसपछि एमालेकै रघुजी पन्तले प्रधानमन्त्रीले संसद्को अवहेलना गरेको आरोप लगाए ।
‘सरकार बनाउने यो संसद्को गरिमा त्यो बेला रहन्छ, जतिबेला सरकारले संसद्को सम्मान गर्छ । प्रधानमन्त्री उपस्थित भएर मन्त्रीलाई काम लगाउनु संसद्लाई अवहेलना हो । आफ्नो विधेयक आफैं पेश गर्न रुलिङ होस्,’ पन्तले भने ।
तर, सभामुख घिमिरेले मन्त्री शर्मालाई नै विधेयक पेश गर्न अनुमति दिए ।










