काठमाडाैं चैत ४,
पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको भन्दै नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।
निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अंगिकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने भन्दै सचेत भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
‘लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरु बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ हामी सजग रहन जरुरी छ भन्नेमा म दृढ छु ।’ पौडेलले भनेका छन्, ‘मुलुकमा अहिले पनि थुप्रै चुनौतीहरु छन् । कोभिड माहामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ । संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखापर्न थालेका असरहररुको न्यूनिकरण तथा राजनैतिक उपलब्धिहरुको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता मैले देखेको छु ।’
प्राप्त राजनैतिक उपलब्धिलाई सदुपयोग गर्दै तिव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ हामी सबै गम्भीर बन्नुपर्ने उनको भनाई छ । दीगो शान्ति, विकास, सुशासन र समृद्धि अबको बाटो रहेको भन्दै पौडेलले सांसदहरूलाई सकारात्मक भूमिका खेल्न पनि आग्रह गरेका छन् ।
संघ, प्रदेश र स्थानीय तहका साथै नीजि क्षेत्रको समेत सहकार्यमा उच्चतम प्रतिफल प्राप्त गरी प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको इच्छा र आकांक्षा सम्बोधन गर्नति सबैको ध्यान जानुपर्ने उनको भनाई छ ।










