विराटनगर चैत ४,
कोशी प्रदेश नामकरणपछि जातीय पहिचान पक्षधरहरूले विभिन्न आन्दोलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको राजधानी विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
कोशी नाममा असहमति जनाउँदै विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफेचोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
आदेश उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनको सूचनामा उल्लेख छ ।
फागुन १७ गते बुधवार प्रदेशको नामकरण गरिएको थियो । प्रदेशको नाम कोशी राखिएपछि आन्दोलन हुँदै आएको छ ।










