काठमाडाैं चैत ३,
नेकपा एमाले अध्यक्ष केपी ओलीले मुलुकमा देशद्रोही अभियान चलिरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा ओलीले दुर्गा प्रसाईका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले प्रतिकार गर्ने चेतावनी पनि दिए।
साग र साइकल सस्तोमा पाइन्छ भनेर देश नै अर्को देशमा मिसाइदिने अभिव्यक्ति दिनेलाई सरकारले किन नसुनेको भनी उनले प्रश्नसमेत गरे।
उनले भने, ‘अहिले त अचम्म लाग्छ देशद्रोही कुरा गरेर मान्छे हिँडी राख्या छ । सरकारले लगाएको हो कि नलगाएको हो ? सरकार सुन्छ कि सुन्दैन ? के यही प्रचार, यही अभियान जनताले प्रतिवाद गर्न नपरोस् ।’
राष्ट्रियताविरुद्ध, राष्ट्रिय अस्तित्वविरुद्ध, राष्ट्रको सार्वभौमसत्ताविरुद्ध कोही चम्किँदै हिँडछ भने कुनै बैंकका डिफल्टर हुन् वा जोसुकै कसैलाई पनि जनताले सहन नसक्ने उनले बताए।
अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताविरुद्ध वकालत गर्नेहरूलाई नेपाली जनताले नछाड्ने र त्यसमा आफ्नो पार्टीको साथ रहने पनि बताए।










