काठमाडाैं चैत ३
उपराष्ट्रपतिमा एमाले उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनाए पनि उनले धोका दिँदा प्रतिकूल अवस्था आएको टिप्पणी गरेकी छिन् ।
उपराष्ट्रपति निर्वाचनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै शाक्यले आफूहरूले गठबन्धन बनाएर प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि उनले त्यो गठबन्धन बिगारेपछि देशमा प्रतिकूल अवस्था आएको बताएकी हुन् ।
‘उपराष्ट्रपति मेरो अनुकूल देख्दै छु । निर्वाचन भनेको स्वस्थ मर्यादित, अमर्यादित सबै हुन्छ । अनेक चलखेल हुन्छ । यसमा श्रेष्ठता हासिल गर्नुपर्छ,’ शाक्यले भनिन्, ‘शुरूआतमा प्रधानमन्त्री प्रचण्ड कमरेडसँग तत्कालै मिलेर अगाडि बढेपछि सरकार बन्यो । गठबन्धन अगाडि बढ्यो । देश र जनताको हितका लागि यो गरिएको थियो । यो गठबन्धन बिग्रेपछि देशमा प्रतिकूलता शुरू भएको छ ।’
शाक्यले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झासँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।
यादवलाई ९ दलको समर्थन छ । एमाले एक्लै चुनावी मैदानमा छ । सत्ता गठबन्धनमा रहे पनि जनमतले भने झालाई उम्मेदवार बनाएको छ ।










