काठमाडाैं चैत ३,
नेपालले सनसनीपूर्ण प्रदर्शन गर्दै एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने पक्का भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणलाई तीव्रताका साथ अघि बढाउने घोषणा गरेका छन् ।
आईसिसी विश्वकप लिग २ मा नेपालले एक बिहीबार यूएईविरुद्ध चामत्कारिक जीत दर्ता गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन रंगशालाको निर्माणलाई तीव्रता दिने घोषणा गरेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध घोषणा गर्नुभएको छ।’ प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलमा भनिएको छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान मात्रै विजयी नेपाली खेलाडीसँग भेट गरेका थिए । ग्लोबल क्वालिफायरमा छनोट हुने नेपाली टिमका प्रत्येक खेलाडीलाई जनही ३\३ लाख दिने घोषणा गरेलगत्तै प्रधानमन्त्रीले निर्माणधीन रंगशाला पनि निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन् ।
काठमाडौंको मूलपानीमा वर्षौ अघिदेखि निर्माणधीन क्रिकेट मैदान र पूर्णत बन्न सकेको छैन । चितवनमा हाँस्यंग्य कलारका सीताराम कट्टेले रंगशाला निर्माणको कामलाई अघि बढाए पनि पैसाको अभावमा रोकिएको छ । अर्बौ लाग्ने रंगशाला निर्माणले कट्टेलले हात हाले पनि फत्ते गर्न नसकेपछि यसको निर्माणको सबै जिम्मा सरकारले लिनुपर्ने माग भइरहेको छ ।
‘मलाई अत्यन्त खुशी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’ विजयी क्रिकेट खेलाडीलाई भेटेपछि प्रचण्डले भनेका थिए ।










