काठमाडौं फागुन २९,
सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकम घटाएर मूल्य बढाएको छ । आज ९फागुन २९ गते० राति १२ बजेदेखि लागु हुनेगरी मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आन सम्पन्न बैठकले रासायनिक मलको मूल्य बढाएको हो ।
जसअनुसार युरियाको मूल्य प्रतिकेजी ११ रुपैयाँ, डीएपीको मूल्य प्रतिकेजी सात रुपैयाँ र पोटासको मूल्य प्रतिकेजी नौ रुपैयाँ बढेको छ ।
त्यस्तै, उक्त निर्णयअनुसार सरकारले रासायनिक मलमा दिने अनुदान रकम घटाएको छ । यसअघि मलमा सरकारको अनुदानमा ७०।८२ प्रतिशत दिँदै आएको थियो भने अब घटेर ५९।०४ प्रतिशत कायम भएको बताइएको छ ।
यसबाहेक सरकारले युरियामा करिब ८० प्रतिशत, डीएपीमा करिब ६० प्रतिशत र पोटासमा करिब ५९ प्रतिशत अनुदान रहँदै आएको थियो । सरकारले ११।७८ प्रतिशत अनुदान कटौती गरेको हो ।
मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव कृषकलाई पर्ने देखिएको छ । सरकारले अनुदानबापत दिँदै आएको रकम अब कृषकले नै व्यहोर्नुपर्ने छ । यसले कृषकले उत्पादन गर्ने कृषिजन्य वस्तुको लागत बढ्नेछ ।
अब बढाइएको मूल्यअनुसार युरियाको मूल्य प्रतिकेजी २५ रुपैयाँ, डीएपीको मूल्य प्रतिकेजी ५० रुपैयाँ र पोटासको मूल्य प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ । यसअघि, युरिया प्रतिकेजी १४ रुपैयाँ, डीएपी प्रतितोला ४३ रुपैयाँ र पोटासको मूल्य प्रतिकेजी ३१ रुपैयाँ थियो ।
कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार उपलब्ध एक अर्ब बजेटबाट हालसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडबाट जी–जी विधिबाट भारत सरकारबाट खरिद गरिएको ३० हजार मेट्रिकटन आयात भएको छ । त्यस्तै, अब बाँकी ९४ मेट्रिकटन मल आयातको क्रममा रहेको छ ।










