– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख २४ –
चालु आर्थिक वर्षको हालसम्म चितवनमा प्रदेश र संघतर्फको गरी कुल ३४ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।
प्रदेश र संघबाट गरी चितवनमा ११ अर्ब ७७ करोड ३५ लाख १४ हजार १८२ रुपैयाँ पुँजीगत बजेट विनियोजन भएको थियो । जसमा हालसम्म ४ अर्ब ४ करोड ३७ लाख ९३ हजार २३१ रुपैयाँ बजेट खर्च भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार चितवनमा चालु आवको हालसम्म संघतर्फको ३५ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । संघबाट चितवनमा चालु आवका लागि कुल ९ अर्ब ९५ करोड ८८ लाख १३ हजार ७१४ रुपैयाँ पुँजीगत बजेट विनियोजन भएको थियो । जसमध्ये हालसम्म ३ अर्ब ४२ करोड ८८ लाख २५ हजार ८९१ रुपैयाँ खर्च भएको हो ।
बागमती प्रदेश लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार चितवनमा चालु आवको हालसम्म प्रदेशतर्फको ३४ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । प्रदेशबाट चितवनमा यस वर्षका लागि कुल १ अर्ब ८१ करोड ४७ लाख ४६८ रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा हालसम्म ६१ करोड ४९ लाख ६७ हजार ३४० रुपैयाँ खर्च भएको हो ।
सरकारी कार्यालयहरुमा आउने संघीय बजेटलाई कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेशको बजेटलाई प्रदेश लेखा नियन्त्रक कार्यालयले निकासा गर्ने गर्दछ । पुँजीगत बजेटलाई विकास बजेटका रुपमा लिइन्छ भने चालुु बजेटलाई सामान्य प्राशसनिक (तलव र भत्ता) खर्चका रुपमा लिइन्छ ।
असार र जेष्ठको वर्षातको समयमामा पुँजीगत खर्च बढ्ने गर्छ । बजेट सकाउनका लागि जेष्ठ, असारमा हतारहतार विकास निर्माणका काम सुरु गरिँदा कमशल र गुणस्तरहिन हुने गरेको गुनासोहरु सुनिन्छन् । जेष्ठ, असारमा विभिन्न ठेक्का सम्झौताको अन्तिम भुक्तानी गरिने भएकाले पनि यो समयमा पुँजीगत खर्च बढ्ने कोष तथा लेखा नियन्त्रक
पुँजीगत बजेट सबैभन्दा धेरै विनियोजन हुने कार्यालयहरुको पुँजीगत खर्चलाई केलाएर हेर्दा यस्तो देखिन्छ ।
नारायणगढ मुग्लिन सडक आयोजना भरतपुरले २८ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आवमा यस कार्यालयमा संघबाट १ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ५० करोड ९२ लाख ८० हजार १६३ रुपैयाँ खर्च भएको हो ।
सडक डिभिजन, भरतपुरले २१ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आवमा यस कार्यालयमा संघबाट १ अर्ब ५८ करोड ५४ लाख १ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ३३ करोड ६८ लाख २० हजार ३२७ रुपैयाँ बजेट खर्च भएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले ४९ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आवमा यस कार्यालयमा संघबाट २ अर्ब ७८ करोड ५४ लाख ५७ हजार ३४५ रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १ अर्ब ३६ करोड ६६ लाख ३० हजार ७८४ रुपैयाँ बजेट खर्च भएको हो ।
प्रदेशतर्फको धेरै बजेट विनियोजन हुने पूर्वाधार विकास कार्यालयले ३० प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आवमा यस कार्यालयमा प्रदेशबाट १ अर्ब ९ करोड ७ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ३३ करोड ३३ लाख २० हजार ६५२ रुपैयाँ बजेट खर्च भएको हो ।






