काठमाडौं, ६ साउन
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि मोरङको विराटनगरमा रहेका उनलाई अस्पताल भर्ना गरिएको हो । विराट नर्सिङ होममा उनको उपचार भइरहेको छ ।
विराट नर्सिङ होमका सूचना सहायक सजन पासवानले आचार्यलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको बताए । आचार्यलाई चिकित्सक राजीव साहले स्वास्थ्य परीक्षण गरिहेका छन् । पासवानले भने, “नाकबाट ब्लड गएपछि उपचारका लागि भर्ना हुनुभएको छ ।”
हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार हरिवंश विराटनगर गएका थिए ।नाकबाट अचानक रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको हो। हाल उनको अवस्था सामान्य रहेको छ।
हरिवंश भोलि बिहान काठमाडौं फर्किने कलाकार किरण केसीले जानकारी दिए । आचार्यलाई भेट्न कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पनि अस्पताल पुगेका छन् ।







