काठमाडौं, असार १४-
टेरामक्स प्रकरणबारे नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले उचित समयमा बोल्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वसूचना तथा सञ्चारमन्त्री बस्नेतले कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजस्व घोटाला भएपछि आफूले टेरामक्स ल्याउने प्रक्रिया अघि बढाएको बताए ।
“मलाई पनि टेरामक्सको कुरा लिएर बेलाबेलामा आरोप आइरहेका छन् । यसमा तीन जना सांसदको नाम मुछिएको छ । कलिला ओठ निचोरे दूध आउने माननीयदेखि दाह्रीजुँगा फुलेका सबैले यो कुरा यहाँ उठाइराख्नु भएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिन्छु । टेरामक्स यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआईपी प्रकरणलाई नियन्त्रण गर्छ ।” बस्नेतले भने ।








