काठमाडौं, असार २-
काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएपछि मेयर बालेन शाह आक्रोशित भएका छन्।
आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न नगरसभाको बैठकमा बोलाइएको थियो । तर, बैठक एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन् ।
‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’
बन्द कोठामा केही नेताले राजनीतिक लेनदेनमा सहमति गर्ने र सार्वजनिक रूपमा त्यसलाई औपचारिकता दिने काम काठमाडौं महानगरमा नहुने उनको भनाइ छ।
मेयर शाहले काठमाडौं महानगरपालिकाको नगरसभामा नेपाली कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनीसमेत दिएका छन् । ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने उल्लेख गरे ।






