काठमाडौँ, २१ जेठ
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले आउँदो आर्थिक वर्षको बजेटले दलाल पुँजीको आगमन वृद्धिका निम्ति बाटो खोलेको टिप्पणी गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले समाजवादउन्मुख दिशामा कुनै कार्यक्रम प्रस्तुत नगरिएको बताए । उनले बजेटमाथिको छलफलमा नै प्रश्न उठाए । संसद्को छलफल वाक्कलाग्दो भएको उनको भनाइ थियो ।
“जतिसुकै उफ्रिए पनि अर्थमन्त्रीले ल्याएको बजेटमा तलमाथि गर्न नपाइने, जे आएको छ त्यही स्वीकार गर्नुपर्ने भएपछि त्यसका छलफलको त्यति औचित्य लाग्न छोड्यो,” उनले भने, “म त यही छलफलको कुरा सुन्दा वाक्क लागेर एकछिन निदाएछु । संसद् रमाइलो छैन ।”








