तनहुँ, ११ असोज
तनहुँको सदरमुकाम दमौलीमा डेङ्गु सङ्क्रमण बढेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । डेङ्गुबाट दमौली बजार क्षेत्रका वडाका सर्वसाधारण सङ्क्रमित भएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा आजदेखि उक्त अभियान सुरु भएको हो ।
जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थालगायतको संयुक्त सहभागितामा अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीलाई दुई समूहमा विभाजन गरी व्यास नगरपालिका–२ र व्यास नगरपालिका–३ मा अभियान सञ्चालन गरिएको छ । सहभागीहरुले लामखुट्टेले फूल पार्नसक्ने सम्भावित स्थानको खोजी गर्ने र बासस्थान नष्ट गर्ने अधिकारीले बताउनुभयो ।
यस अभियानअन्तर्गत विभिन्न चेतनामूलक सन्देश प्रवाह गर्ने, प्रभावित क्षेत्रका नागरिकलाई लामखुट्टेको टोकाइबाट जोगिने उपायका बारेमा सजग गराइने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीका अनुसार जिल्लाभर एक हजार नौ सय ९४ जनामा डेङ्गु सङ्क्रमण भएकामा व्यास नगरपालिकामा मात्रै एक हजार छ सय ९० सङ्क्रमित छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार व्यास–२, ३ र ४ मा बढी सङ्क्रमण भएका छन् ।