काठमाडौं, जेठ २८ –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पशुराम तामाङले आगामी आर्थिक वर्षको बजेट नवउदारवादी तथा पुँजीवादी आर्थिक नीतिको निरन्तरता भएको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले आर्थिक–राजनीतिक दृष्टिकोणबाट हेर्दा बजेटले २०४८ सालदेखि अवलम्बन गरिएको निजीकरण र उदारीकरणको नीतिलाई नै निरन्तरता दिएको दाबी गरे।
उनले भने, ‘अर्थराजनीतिक दृष्टिले हेर्दा यो बजेट २०४८ सालको निजीकरण र उदारीकरणमा आधारित नवउदारवादी पुँजीवादी आर्थिक नीतिको निरन्तरता हो । अहिले त्यसको विस्तार डिजिटल स्वरूपमा गरिएको छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ।’
सांसद तामाङले यही आर्थिक नीतिका कारण देशका उद्योगधन्दा कमजोर बन्दै गएको र ठूलो संख्यामा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको आरोप लगाए । उनका अनुसार वर्तमान बजेट पनि पुँजीजीवी वर्ग र मध्यम वर्ग विस्तारको नाममा त्यही नीति अघि बढाउने उद्देश्यका साथ ल्याइएको छ ।
उनले नेपालको संविधानको प्रस्तावनाले परिकल्पना गरेको समाजवादउन्मुख राज्य व्यवस्थाको लक्ष्यसँग बजेटको दिशा मेल नखाने जिकिर गरे ।
उनले भने,‘यो बाटो संविधानले निर्देशित गरेको समाजवादको गन्तव्यभन्दा फरक छ ।’
सांसद तामाङले उत्पादनमुखी अर्थतन्त्र, स्वदेशी उद्योगको संरक्षण र श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखेर आर्थिक नीति निर्माण गर्न सरकारलाई आग्रह गरे ।















