काठमाडौँ , जेठ २७ –
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको राजनीतिमा एउटा नयाँ र ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । बुधबार मोदी भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म सत्तामा रहने ‘निर्वाचित’ प्रधानमन्त्री बनेका हुन् ।
सन् २०१४ मे २६ मा पहिलो पटक प्रधानमन्त्री पदको शपथ लिएका मोदीले बुधबार यस पदमा आफ्नो कार्यकालको ४ हजार ३ सय ९९ दिन पूरा गरेर यो नयाँ रेकर्ड बनाएका हुन् ।
यसअघि यो रेकर्ड भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा रहेको थियो । नेहरूले निर्वाचित प्रधानमन्त्रीका रूपमा ४ हजार ३ सय ९८ दिन देशको नेतृत्व गरेका थिए । नेहरूको सोही रेकर्डलाई उछिन्दै मोदी भारतको इतिहासमै सबैभन्दा लामो समय लगातार देश चलाउने निर्वाचित नेता बनेका हुन् । वर्तमान समयमा मोदीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री पद सम्हालिरहेका छन् ।
यस ऐतिहासिक कीर्तिमानको सन्दर्भमा ‘नियुक्त’ र ‘निर्वाचित’ कार्यकालको भिन्नतालाई बुझ्न जरुरी देखिन्छ । सन् १९४७ अगस्ट १५ मा भारत बेलायती उपक्रमबाट स्वतन्त्र भएपछि जवाहरलाल नेहरूलाई सिधै प्रधानमन्त्री नियुक्त गरिएको थियो । उनी संसद्बाट निर्वाचित नभई सोझै नियुक्त भएको सो पहिलो अवधि सन् १९४७ अगस्ट १५ देखि १९५२ मे १३ सम्म कुल १ हजार ७ सय ३२ दिनको रहेको थियो ।
त्यसपछि सन् १९५२ मा भारतमा पहिलो पटक आम निर्वाचन भयो र कांग्रेस सत्तामा आएपछि संसदीय दलले नेहरूलाई आफ्नो नेता छान्यो । यसरी निर्वाचन जितेर आएपछि नेहरू १९५२ मे १३ देखि १९६४ मे २७ सम्म लगातार ४ हजार ३ सय ९८ दिन निर्वाचित प्रधानमन्त्रीका रूपमा पदमा रहेका थिए । मोदीले नेहरूको सोही निर्वाचित अवधिको रेकर्डलाई तोडेका हुन् ।
कुनै पनि पदमा बिनाकुनै अवरोध निरन्तर रहिरहनुलाई लगातार कार्यकाल भनिन्छ, जसरी मोदी सन् २०१४ मे २६ देखि अहिलेसम्म निरन्तर पदमा छन् । अर्कोतर्फ, फरक–फरक समयमा सोही पदमा रहेर काम गरेको अवधिलाई जोडेर ‘कुल कार्यकाल’ निकालिन्छ, जसरी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी तीन फरक अवधिमा प्रधानमन्त्री बनेका थिए ।
मोदी सरकारको १२ वर्ष पूरा भएको अवसरमा र यो ऐतिहासिक रेकर्डको खुसीयाली मनाउन बुधबार दिउँसो नयाँ दिल्लीको भारत मण्डपममा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को एउटा महत्त्वपूर्ण बैठक बस्दै छ । बैठकमा भाजपा र एनडीएशासित २२ राज्य तथा केन्द्रशासित क्षेत्रका मुख्यमन्त्री, उपमुख्यमन्त्रीसहित प्रमुख नेताहरूको उपस्थिति रहनेछ ।
सो बैठकमा मोदीले कायम गरेको यस कीर्तिमानका लागि बधाई प्रस्ताव पारित गरिनेछ । यसका साथै बैठकमा ‘विकसित भारत–२०४७’ को रोडम्याप, केन्द्र र राज्यहरूबीचको समन्वय, विकास परियोजनाहरू, ‘इज अफ लिभिङ’ र ‘इज अफ डुइङ बिजनेस’ लाई अझ अगाडि बढाउने विषयमा गम्भीर छलफल हुनेछ ।















