भरतपुर,जेठ २०-
चितवनको इच्छाकामना गाउँपालिका–१ का दुई सय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । साप्रेनी, चौकीडाँडा, जैथली, दिङलाङ, ज्यानदाला र बाङग्यानका विपन्न चेपाङ समुदायलाई लक्षित गर्दै बुधबार खाद्यान्न वितरण गरिएको हो । गामबेसीको चेपाङ संरक्षण केन्द्रका संस्थापक तथा चेपाङ अभियन्ता केपी किरण शर्माको समन्वयमा स्याङजा अर्जुनचौपारी गाउँपालिका १ घर भई हाल रोजगारीको शिलशिलामा स्वीजरल्याण्ड रहनुभएका धनबहादुर अधिकारीले चेपाङ समुदायका लागि खाद्यान्न उपलब्ध गराउनुभएको थियो । उहाँले पछाडि परेका चेपाङ समुदायका लागि थोरै भएपनि मलमको काम गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको उल्लेख गर्नुभयो ।
चेपाङ समुदायसंग पुग्न पुलको काम गर्ने “चेपाङका बा” भनेर चिनिने केपी किरण शर्मा को योगदान महत्वपूर्ण रहेको छ । “यहाँसम्म आउन सक्ने अवस्था बन्नुमा उहाँको ठूलो भूमिका छ । उहाँप्रति हामी आभारी छौं,” अधिकारीले भन्नुभयो । यसअघि पनि उहाँ अबद्ध संस्था एशोसियसन अन्नपूर्ण पोखराले चेपाङ समुदायलाई खाद्यान्न वितरण गर्नुका साथै आयआर्जनका लागि बाख्रा वितरण समेत गरेको थियो। अधिकारीले देश तथा विदेशका विभिन्न दातृ निकाय र सहयोगीप्रति पनि आभार व्यक्त गर्नुभयो ।
गामबेसीको चेपाङ संरक्षण केन्द्रका संस्थापक तथा चेपाङ अभियान्ता केपी किरण शर्माले अहिले चेपाङ गाउँमा पुरानो मकै सकिएको र नयाँ भित्रि नसकेको अवस्थामा खाद्यान्न अभाव रहेको रहेको बताउनुभयो । “धेरै घरमा खाद्यान्न अभाव छ । देश–विदेशबाट सहयोग गर्ने दातृ संस्था र व्यक्तिहरूको सहयोगले विभिन्न समयमा राहत पुर्याउँदै आएका छौं,” उहाँले भन्नुभयो । दुर्गम बस्तीका विपन्न समुदायको जीवनस्तर उकास्न सरकारी निकाय, सामाजिक संस्था र दातृ समुदायबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले चेपाङ समुदायका कतिपय घरमा चुलो बल्न समेत कठिन अवस्था रहेको उल्लेख गर्नुभयो । “यो सहयोगले थोरै भए पनि राहत दिनेछ,” उहाँले भन्नुभयो, “सहयोग गर्ने सम्पूर्ण संस्था, दाता र व्यक्तिहरूप्रति गाउँपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।” उहाँले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार विकासका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको भए पनि खाद्यान्न सुरक्षाको क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
एशोसियसन अन्नपूर्ण पोखराका म्यानेजर श्याम रोकाले दुई सय परिवारलाई एक–एक बोरा चामल, खाने तेल, सोयाविन र नुन वितरण गरिएको जानकारी दिनुभयो । उहाँले दुर्गम चेपाङ बस्तीमा अझै पनि खाद्यान्न अभाव समस्याका रूपमा रहनु चिन्ताको बिषय भएको बताउनुभयो ।















