काठमाडौँ, जेठ २०-
जनमत पार्टीका नेता डा सीके राउतले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर मधेशीलाई सफाया गर्ने र तह लगाउने रणनीति नहोस् भन्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा फोटो सेयर गर्दै राउतले लेखे, ‘रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेशीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीतिको रूपमा नहोस् । चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेशी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ,’ उनले रवि र मोदीको फोटो सेयर गर्दै भनेका छन्, ‘तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेशीलाई झैं उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ।’
उनले थपेका छन्, ‘तराई कांग्रेसदेखि जसपा र जनमतसम्म, चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राउ र इन्काउन्टर गराएर होस्, शून्यमा झारेर होस्, कुनै पनि मधेशी नेतालाई आजसम्म स्थापित हुन दिइएन।’
















