काठमाडौं, माघ ७ –
रास्वपा सभापति रवि लामिछाने देशभर मनोनयनको रौनक चलिरहेको भए पनि आफू मिसिन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् फागुन २१ मा घण्टी बजाएर जवाफ दिने बताएका छन् ।
अहिले चितवन २ मा उमेदवारी दर्ता गराउने बेलामा अदालतमा उपस्थित हुनुपरेको बताउँदै भनेका छन्– चितवन २ का मेरा शुभचिन्तक बाटो कुरिरहेका छन् । भ्याएसम्म मनोनयनका लागि आफैँ उपस्थित हुने प्रयासमा छु । नसके वारेसमार्फत् मनोनयन दर्ता हुनेछ ।”
उनले आफूमाथि गरेको पाप र अत्याचारको हिसाब नेपाली जनताले फागुन २१ गते घण्टी बजाएर दिने बताएका छन् ।
रविको स्टाट्स जस्ताको त्यस्तै:
देश निर्वाचनमय छ । देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकी आजै देशका तीनवटा (पर्सा, काठमाण्डौ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ । अरू अदालतको आदेश आउदै होला । पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु । चितवन(२ मा मेरा शुभचिन्तक बाटो कुरीरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफै उपस्थित हुने प्रयासमा छु। नसकेको खण्डमा वारेस मार्फत मनोनयन दर्ता हुनेछ।
म माथी गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन् ।देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू । मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु।






