विराटनगर, साउन ३-
धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई धरानका मेयर हर्क साम्पाङगका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । केही दिनदेखि मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो । विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाकाविरुद्ध आन्दोलन गर्न उक्साउँदै आएका थिए ।उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन् ।
पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
सञ्चारकर्मी धमला उपचार गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् ।







